पर्यटन

हुम्ला र मुस्ताङमा हिमपातसंगै , जनजीवन प्रभावित




काठमाण्डौ,१८ मसिर । हुम्ला र मुस्ताङमा हितपात भएको छ । सोमबार बिहानैदेखि हुम्ला र मुस्ताङमा हिमपात भएको छ । हिमपातपछि चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएकोछ ।

सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए ।

हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताए । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उनले बताए । सोमबार बिहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रुसमेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ ।

यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

त्यसरी नै मुस्ताङमा पनि यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।