अर्थ

राेपेकाे ७० दिनमै सयपत्री फूल बिक्रीका लागि तयार



तनहुँ, १६ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रोपेको ७० दिनमै सयपत्री फूल बिक्रीका लागि तयार भएको छ । यहाँका दुई महिला समूहले लगाएको सयपत्री फूल बिक्रीका लागि तयार भएको हो ।

गाउँपालिकाको सहयोगमा दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती शुरु गरिएको थियो । आँबुखैरेनी–१ यान्चोक आमा समूहमार्फत १२ रोपनी र आँधीमूल आमा समूहमार्फत सात रोपनीमा सयपत्री फूलखेती गरिएको थियो । दुवै समूहलाई फूलको बिरुवा उपलब्ध गराएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । गएकाे साउन २० गते यान्चोकमा १२ हजार र आँधीमूलमा आठ हजार बिरुवा रोपिएका थिए ।

‘सयपत्री फूल फुलेपछि टिप्न थालिएको छ । अहिले फुलेको सयपत्री मङ्सिरसम्म टिप्न सकिन्छ’, उहाँले भन्नुभयो । सयपत्री फूल अहिले प्रतिकिलो दुई सय रुपैयाँका दरले बिक्री भइरहेको छ । एउटा माला ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यस वर्ष १० लाख रुपैयाँको फूल बिक्री हुने अनुमान गरिएको छ । 

स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छाैँ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।’

गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको अध्यक्ष चुमानको भनाइ छ ।  

यहाँ फूलखेती शुरु गरिएपछि बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आले मगरले बताउनुभयो । यस्तै आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराई फूलखेती थालिएको बताउनुभयो । रासस