समाचार

पोखरामा कात्तिक २५ गते देउसीभैलो महोत्सव



गण्डकी, २४ कार्तिक । पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले दैउसीभैलोको  मौलिकता जोगाउने उद्देश्यका साथ यही कात्तिक २५ गते पोखरामा प्रथम देउसीभैलो महोत्सव २०८० गर्ने भएको छ ।

महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुले पछिल्ला वर्षमा तिहारको समयमा खेलिने देउसीभैलो आधुुनिकताका नाममा मौलिकताविहीन बनिरहेकाले त्यसको जगेर्नाका लागि महोत्सव गर्न लागिएको बताए ।

पोखरा र आसपासका क्षेत्रमा प्राचीनकालदेखि प्रचलनमा रहेका विभिन्न समुदायको देउसीभैलोलाई महोत्सवमा समेटिने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक एवं गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंकलगायत सङ्घसस्थाको सहकार्य रहने छ । रासस