Banner News



छठ पर्वको दोस्रो दिन आज खरना

काठमाडौँ, २ मंसिर । सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । छठ पूजा को दोस्रो दिन पञ्चमी तिथिमा खरनाको दिन ब्रतालुहरु बिहानको खाना नखाई, दिन भरी व्रत बस्छन् । खरनाको राति ‘चामल र गुड्’ बाट बनेको खिर प्रसादको रुपमा छठी माईलाई खरना पुजामा अर्पण गर्छन् ।

आँपको दाउरा तथा गोईठाको आगोको हवनमा प्रसाद, धुप, तिल, जौं आदिबाट हवन गरिन्छ । माटो बाट बनेको नयाँ चुलोमा गोईठा तथा आँपको दाउराको आगोमा प्रसाद पकाइन्छ । यस दिनमा ब्रतालुले नुन खान नहुने मान्यता छ । ब्रतालुहरु खरनाका दिनभरि भोकै बस्छन र राति खरना पुजाको प्रसाद ‘चामल र गुड्’ बाट बनेको खिर मात्र खान्छन् । खरना पश्चात छठ ब्रतालुहरुले ३६ घण्टाको  निर्जला उपवास ब्रत ‘पारना’ सम्म बस्छन् ।

छठको प्रारम्भ शुक्रबार ‘नहाय-खाय’ विधिबाट सुरू भएको थियो । पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरू भएको मानिने कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन्। यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ ।

बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र शुक्रबार (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने ब्रतालुले कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

ब्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ ।  यो व्रत यसपालि पर्सी आइतबार सम्पन्न गरिने छ। यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ । यसपालि  छठको समापन आउने सोमबार बिहान सूर्योदयसँगै गरिने छ।