समाचार

टेलिकमका कर्मचारीका लागि ओशो तपोवनमा तनाव व्यवस्थापन कार्यक्रम



काठमाडौँ, १२ मंसिर । नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतका लागि कर्पोरेट वातावरणमा ध्यानको माध्यमद्वारा तनाव व्यवस्थापन विषयमा एक दिवसीय कार्यक्रम ओशो तपोवनमा सञ्चालन गरिएको छ । सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशकसहित निर्देशनालयका नायव प्रबन्ध निर्देशकहरू, प्रबन्धकहरू गरी १५ जना उच्च पदस्थहरूको उपस्थिति थियो ।

सांगठनिक व्यवस्थापनमा उच्च पदहरूमा रहने व्यक्तिहरूलाई पर्ने मानसिक तनाव र त्यसले निम्त्याउने अरू समस्याहरू जस्तै शारीरिक थकान, भावनात्मक असन्तुलन, संज्ञानको क्षमतामा पर्ने प्रतिकुल असरको बारेमा योग र ध्यान तथा आधुनिक स्वास्थ्य विज्ञानले गरेको खोजहरूको बारेमा परिचर्चा गरिएको थियो । सो कार्यक्रममा ओशो तपोवनका गुरु स्वामी आनन्द अरुणले आजको युगमा सन्तुलित जीवनका लागि जीवनशैलीको व्यवस्थापन गर्नु नै सबैभन्दा उत्तम उपाय बताएका थिए । 

आजको हतारिएको मनुष्य तनाव र विषादले ग्रस्त रहेको र त्यसले अनेकौँ मनोविकार सिर्जना गरेको वर्तमान अवस्थामा उनले  प्रत्येक दिन समग्र स्वास्थ्यका लागि अत्यावश्यक उचित व्यायाम, स्वस्थ भोजन, ध्यान, राम्रो परिवेश, इमानदारिता, आनन्द जीवनशैलीका उपायहरू अवलम्बन गर्ने कलाको बारेमा पनि बताएका थिए । 

आजको हतारिएको मनुष्य तनाव र विषादले ग्रस्त रहेको र त्यसले अनेकौँ मनोविकार सिर्जना गरेको वर्तमान अवस्थामा उनले  प्रत्येक दिन समग्र स्वास्थ्यका लागि अत्यावश्यक उचित व्यायाम, स्वस्थ भोजन, ध्यान, राम्रो परिवेश, इमानदारिता, आनन्द जीवनशैलीका उपायहरू अवलम्बन गर्ने कलाको बारेमा पनि बताएका थिए । 

कार्यक्रम सञ्चालन तथा ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले प्रत्येक दिनका लागि व्यवहारिक योगासन, प्राणायाम र ओशोका विविध ध्यान विधिहरू गराएका थिए । त्यस्तै, एआरएनका निवर्तमान अध्यक्ष भवन भट्ट (स्वामी आनन्द देव) ले जस्तोसुकै अवस्थामा पनि प्रत्येक दिन शान्त र ऊर्जावान् रहनको विकल्प नरहेको र व्यस्त जीवनमा संसार र अध्यात्म जोड्ने ओशोको ध्यानयुक्त जीवन दर्शनले आफूमा हुने रूपान्तरणको बारेमा बताए । 

नेपाल टेलिकमका अधिकृतहरूलाई विशेष रूपले तयार गरिएको यो कार्यक्रममा भाग लिएका प्रबन्धक कृष्ण प्रसाद भण्डारीले सो कार्यक्रमले नयाँ ऊर्जा प्रदान गरेको बताए । प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठले कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिए ।