समाचार

आजको मौसम



काठमाडौँ, १३ मंसिर । हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।गण्डकी, कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा, हिमपात र देशभरको तापक्रम गिरावटबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।