अर्थ

उपभोक्ता सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न



भक्तपुर, १७ मंसिर । बढ्दो महंगी, कोलोबजारी तथा अवैध सामाग्री रोकथाम तथा नियन्त्रण तथा अन्य विभिन्न समस्याहरुको सुझावको लागि उपभोक्ता सचेतनासम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज चाँगुनारायण नगरपालिकाको सभाहलमा उपभोक्ता सचेतानासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योग, व्यापार व्यवसायलागतका मानिसको दैनिक जीवनमा अनिवार्य आवश्यकता पर्ने सामाग्रीको प्रयोग गर्दा उपभोक्ता तथा सम्बन्धीत निकायले खेल्नुपर्ने भूमिका तथा जिम्मेवारीको बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा कानुनी प्रकृया, कारवाही, अनुगमन, खवरदारी तथा दर्ता प्रकृयाका बारेमा जानकारी गराइयो ।

नगरपालिकाका प्रमसख जीवन खत्रीले वर्तमान अवस्थामा जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता हुनेपर्ने नगरपालिकाको नारा नै रहेको उल्लेख गर्दै उपभोक्ताको हित र संरक्षणको लागि नीतिगत कार्यान्वयन, अनुगमन तथा बजारीकरण नगरपालिकाले जनपक्षीय रुपमा अगाडी बढाइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्तालाई सुरक्षित बनाउन तीन वटै तहका सरकारको समन्वय आवश्यकता रहेको छ । एकले अर्कालाई दोष लगाएर उपभोक्तालाई मारमा पार्नु हुँदैन । सार्वजनिक हक र अधिकारलाई अक्षरस पालना गर्न लगाउनुपर्छ । आजको विक्रेता भोलिका क्रेता बन्न सक्छ । त्यसैले आफैले आफैलाई शोसित गर्नु हुँदैन । यसलाई विचार गर्नुपर्छ । संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन नसक्नु पनि भ्रष्टाचार नै हो । त्यसैले निमायक संस्थाहरुले उपभोक्ताको हितमा रहेर काम गर्नुपर्छ । नगरपालिका त्यसबाट पछि हट्दैन । उपभोक्ताको हितमा जहिले पनि सँगै हुनेछ ।’

सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले विभिन्न चरणमा गरिएको अनुगमनबाट अखाद्य तथा समय गुज्रीएका पाँच लाख बराबरको सामाग्रीहरु बरामद तथा सो सँग सम्बन्धीत तीन लाख जरिवाना गरिएको जानकारी गराउनुभयो । तीन वटै तहो सरकारको समन्वयमा समस्या रहेको औंल्याउँदै उहाँले कालोबजारी तथा गैरकानुनी कार्य गर्नेलाई प्रशासनले कानुनी दायरमा ल्याउने प्रतिवद्धता जनाउनुभयो । बजार अनुगमन नतिजामुखी हुनुपर्नेमा जोड दिँदै उहाँले अनुगमनको बहानामा व्यवसायीलाई हतोत्सायी बनाउने कार्य गर्न नहुने धारणा राख्नुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले ग्राहकप्रति व्यवसायीहरु इमान्तदारिता हुनुपर्नेमा जोड दिनुभयो । सामाग्रीहरुको सुद्धिकरण तथा बजार व्यवस्थापनको पक्षलाई बिक्रेताले समय सापेक्ष तथा उपभोक्तामैत्री बनाउनुपर्जेमा जोड दिँदै उहाँले आर्थिक, बाणिज्य, आपुर्ति नीति नबनाई हचुवाका भरमा निमायक संस्थाहरुले काम गरिरहेको गुनासो व्यक्त गर्नुभयो । राजनीतिक विचारभन्दा पनि मुद्धाका आधारमा अगाडी बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले छिमेकी देश भारत र चीनसँग चनाखो भई आयात तथा निर्यात गर्नुपर्ने धारणा राख्नुभयो । मौलिक हकहरु कागजी रुपमा व्यवस्था भएपनि व्यवहारिक रुपमा कार्यान्वयनमा कमजोरी रहेको औंल्याउँदै उहाँले कालोबजारी नियन्त्रण तथा मूल्य निर्धारण स्थानीय तहले गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य संघ भक्तपुरका उपाध्यक्ष रामप्रसाद प्रजापतिले उपभोक्ताको हक र अधिकारसम्बन्धी कार्यक्रममा जनप्रतिनिधिहरुको साथमा स्थानीयवासीको उल्लेख्य सहभागिता हुुनपर्ने गरि कार्यक्रम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उठेका सवैको कुरा सुन्न सक्ने क्षमताको विकास जनप्रतिनिधिहले गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले कानुनलाई कडाईका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । अखाद्य वस्तुको प्रयोगले मानिसमा क्यान्सर जस्ता गम्भीर प्रकृतिका रोगहरु लाग्ने खतरा बढेर गएको जानकारी गराउँदै उहाँले बोइलर कुखुरमा एन्टिवाईटिकको प्रयोग गर्ने र त्यसले विरामी भएको समयमा एन्टिवाईटिक प्रयोग गर्दा काम नलाग्ने अवस्था आउन सक्नेतर्फ समेत सचेत हुनुपर्ने बताउनुभयो ।

पेशल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, राष्ट्रिय उपभोग मञ्च नेपाल भक्तपुरका अध्यक्ष मनोज थापा, किराना खाद्य व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद चौवाल, पत्रकार रमेश गिरी, आयोजक संस्थाका उपाध्यक्ष पुस्करराज बुढाथोकीलगायतले आ–आफ्नो धारणा राख्नुभयो ।