मनोरञ्जन

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस



काठमाडौँ, १९ मंसिर । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

प्राप्त सूचनाको आधारमा सोमबार साँझ ६:३० बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी सो हलमा तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको हो । हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।

सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।