समाचार

पहिलो पटक हुम्लामा टिपर पुग्दा…



काठमाडौँ, १५ वैशाख । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुईवटा टिपर पुगेका छन् ।

नेपालगञ्ज, सुर्खेत हुँदै एक सातामा ती टिपर सिमकोट पुगेका हुन् । सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक हुम्ला पुगेका टिपर र चालक स्थानीयले फूलमालाले स्वागत गरेका छन् । 

उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिपर पुगेका हुन् ।  नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर दुईवटा टिपर सिमकोट पुगेको जनाइएको छ । 

नाम्खाको च्याछरा भिर छिचोल्ने जिम्बा लिएको ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिका प्रोपाइटर प्रेम कार्कीले सोही खण्डका लागि डिजेलको आवश्यक परेपछि टिपर हुम्ला ल्याइएको बताए ।

उनले च्याछरा सडक निर्माणका लागि डिजेल नहुँदा काम रोकिएपछि जिल्ला प्रशासन र मन्त्रालयमा आग्रह गरेपछि छारे खण्डबाट नेपाली सेनाले उक्त सवारी गुड्नका लागि अनुमति दिएको हो ।  छारे भिरबाट ती सवारी चल्न नदिएपछि तीन दिन स्याल्तडी बसेर विभिन्न प्रक्रिया पूरा गरेपछि टिपरलाई यहाँ आउन अनुमति प्राप्त भएको प्रोपाइटर कार्कीले बताए ।