समाचार

‘नेप्सेम्याक सन्देश–५’ सार्वजनिक



काठमाडौँ, २० मंसिर । नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)द्वारा संस्थाको २५ वर्ष पुरा गरेको अवसरमा ‘नेप्सेम्याक सन्देश–५’ सार्वजनिक गरिएको छ ।

संस्थाको एक कार्यक्रमका बिच उक्त पुस्तक विमोचन गरिएको हो । आज नेप्सेम्याक ग्रुपको कर्मचारी भेला तथा प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका सांसद प्रेमभक्त महर्जन तथा केशव पोखरेलको विशेष आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचनका साथ साथै कार्यक्रममा आफ्ना कर्मचारीरुलाई सवारी साधन चलाउँदा अपनाउनुपर्ने ट्राफिक नियमहरुको बारेमा तालिम समेत दिइएको छ । प्रहरी इनिष्पेक्टर शेखर जंग मल्लले उक्त तालिमको सहजिकरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद महर्जनले नेप्सेम्याकले वातावरण प्रदुषण न्युनिकरण, सरसफाईका साथ साथै रोजगारीको समेत व्यवस्थापन गरेकोमा विशेष धन्यवाद प्रकट गर्नुभयो । यस्ता प्रकारका सेवामुलक कार्यहरुलाई अझ बढि व्यापक विस्तार गर्नु जरुरी रहेको औंल्याउँदै उहाँले भन्नुभयो, ‘देशबाट युवा विदेश पलायन डरलाग्दो तरिकाले बढिरहेको छ । त्यसलाई रोक्न नेप्सेम्याक जस्तै अन्य विभिन्न प्रकारका उद्योग तथा कलकारखाना खोल्न अपरिहार्य बनेको छ । रोजगारीको वातावरण सिर्जना गरि युवा विदेश पलायन रोक्नुपर्छ । त्यस्तै फोहोरको नाममा हुने अनेकन समस्याहरुको समाधान गर्न नेतृत्वले इच्छाशक्ति देखाउनुपर्छ । प्रत्येक निर्वाचन क्षेत्रमा कम्पोष्ट मल उत्पादन केन्द्रको स्थापना गर्ने बागमती प्रदेश सरकारको योजना रहेको छ । जसमा थ्री पीको माध्यमबाट अगाडी बढ्नुपर्छ । भौतिक पुर्वाधारको विकास गर्दै नेप्सेम्याकले अबका दिनमा ग्रीगरी बनाउने अभियान समेत चलाउनुपर्छ ।’

अखिल नेपाल ट्रेडयुनियन महासंघका महासचिव सालिग्राम काफ्लेले कर्मचारीको व्यवस्थापकीय क्षेत्रमा नेप्सेम्याकले उत्कृष्ट कार्य गरेको उल्लेख गर्नुभयो । वातावरण प्रदुषण नियन्त्रण गर्ने तथा फोहोर व्यवस्थापन गर्ने संस्थाहरुका समस्याहरुलाई राज्यले समाधान र व्यवस्थापकीय क्षेत्रको सुधारको लागि विशेष सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेप्सेम्याकका सञ्चालक मित्रप्रसाद घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष टीकाराम दाहालले संस्थाको काम, कर्तव्य, अधिकार र जिम्मेवारीको बारेमा विस्तृतमा उल्लेख गर्नुयभो । संस्थाका विगतमा भए गरेका कार्यहरुको संक्षेपमा जानकारी गराउँदै उहाँले फोहोरमैला व्यवस्थापन ऐन प्रभावकारी नभएकाले ऐनलाई समयसापेक्ष रुपमा परिवर्तन गरी काम गर्न सहज बनाइदिन सम्बनधीत निकायलाई आग्रह गर्नुभयो । संस्थाले स्थानीय तहक तथा जनतासँग नै मिलेर काम गरिरहेको उल्लेख गर्दै उहाँले हालसम्म संस्थामा दुई अर्वभन्दा बढि लगानी रहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेम थापा, वडा नं. १५ का वडाध्यक्ष इश्वरमान डंगोल, ललितपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष राकेश कुमार महर्जनलगायतले शुभकामना व्यक्त गर्दै नेप्सेम्याकलाई सम्बन्धीत स्थानीय तहको साथ र सहयोग हुनेमा विश्वास दिलाउनुभयो । उहाँहरुले नेप्सेम्याकलाई काम गर्न आवश्यक ऐनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी दिनमा सहयोग गर्दै हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।