राजनीति

रोल्पाका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र



काठमाडौँ, ५ पौष । रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण निर्माणाधीन शहीद मार्ग निर्माणमा काममा ढिलाइ भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका सङ्घीय सांसद एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान सरकारी निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरेको हो । आर्थिक वर्ष ०६४–०६५ देखि सुरु भएको दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम–मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएकामा प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएको नेता पुनले जानकारी दिए ।

उक्त सडकखण्डअन्तर्गत हाल होलेरी–दारबोट कालोपत्रेको कारणमा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेकोबारे प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । यस्तै हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग गरिएको छ । विगतमा घोराही–होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण पिच भत्किएर सो ठेक्का रद्ध गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाइ भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन्न प्रधानमन्त्रीसँग माग गरे ।