राजनीति

चुनढुङ्गा उत्खननको भ्रष्टाचार मुद्दामा सफाइ पाएकाहरू विरुद्ध अख्तियार सर्वोच्चमा



काठमाडौँ, ७ पौष ।  चुनढुङ्गा उत्खननको भ्रष्टाचार मुद्दामा सफाइ पाएका आरोपितहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

अनुमति पत्रमा तोकिएभन्दा बढी चुनढुङ्गा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोप लागेका १८ जनालाई विशेष अदालतले सफाइ दिएको थियो ।

विशेष अदालतको निर्णय त्रुटीपूर्ण भएको भन्दै अख्तियारले हिजो सर्वोच्चमा पुनरावेदन दिएको हो । अनुमतिपत्रको दायराभन्दा बढी मात्रामा चुनढुङ्गाको उत्खनन र प्राकृतिक स्रोतसाधनको दोहनले राज्यलाई क्षति पुगेको र राज्यकोषमा आउनुपर्ने राजस्व गुमेको अख्तियारको ठहर छ । अख्तियारले विशेष अदालतको फैसला बदर गर्न र आरोपित सबैलाई कसुरदार ठहर्याउन माग गरेको छ ।

विशेष अदालतले गएको चैतमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माइनिङ इञ्जिनियर जयराम घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरू प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी, भूगर्भविद् डा. सौनक भण्डारीसहित १८ जनाविरुद्धको आरोप पुष्टि नहुने भन्दै सफाइ दिएको थियो ।