अर्थ

१६८ मुरी धान फलाएका बम्जन दम्पतीलाई ५० हजार पुरस्कार 



पाँचथर, ७ पौष । खेतमा फलेको १६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो । 

मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उनकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।  

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुगेका थिए । उनले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गरे । मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उनको घर पुगे । 

मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान १६८ मुरी प्रमाणित भएपछि उनी खुसी भए । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उनले यसअघि नै बिक्री गरिसकेको बताए । त्यसैले उनले फलाएको धान १६८ मुरी मात्र गणना भयो । 

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताए । गत मंसिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाएका थिए ।  

“वडाध्यक्षले खबर गरेपछि गत मंसिर १३ गते गाउँपालिकामा गएर १८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ”, मकरबहादुरले भने । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ । “विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ । त्यतिबेला मेरो पाँचजनाको परिवार थियो”, उनले भने, “मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।” 

मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिएका हुन् । उनले मकैका लागि पाखो बारी अधियाँमा लिएका छन् । 

किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले  धानका खलाखलामै कर्मचारीलाई बोलाएका थिए । तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गरे । “धान जम्मा गर्न सात हजार खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्”, उनले भने । 

बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीको भनाइ छ । रासस