राजनीति

दोस्रो वरीयताका लागि कांग्रेसमा विवाद



काठमाडौँ, ८ पौष । कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाबीच पार्टी वरीयतामा दोस्रो स्थान कसले लिने भन्ने विवाद चर्किएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मर्यादाक्रममा सभापति शेरबहादुर देउवापछि उपसभापति खड्का छन् ।

१४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाले ४० प्रतिशत मत पाएसँगै ‘वरिष्ठ’ नेता दिनुपर्ने माग संस्थापनइतर पक्षबाट उठ्दै आएको छ । उनले पार्टीमा ‘वरिष्ठ’ नेताको हैसियत पाएमा मात्रै सभापतिपछिको दोस्रो स्थानको मर्यादा पाउँछन् । अहिले उनी पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछिको पहिलो नम्बरमा छन् । जसअनुसार कोइरालाको स्थान मर्यादाक्रममा २५ औं नम्बरमा छ ।

कोइरालालाई वरिष्ठ नेतासहितको दोस्रो स्थान दिने कि नदिने भनेर आन्तरिक तहमा बढिरहेको विवाद अहिले प्रदेश सम्मेलनहरूमा समेत देखिन थालेको छ । संस्थापनइतर पक्षले नेतृत्व गरेको प्रदेशमा उपसभापति खड्कालाई र इतरपक्षले नेतृत्व गरेको प्रदेशमा वरिष्ठ नेताको हैसियत दिएर कोइरालालाई सभापतिपछिको विशिष्ट अतिथिमा बोलाउने गरिएको छ । सभापति देउवापछि दोस्रो वरीयता नपाउने अवस्था भएमा खड्का र कोइराला दुवैले कार्यक्रम नै बहिष्कार गर्ने गरेका छन् ।

शनिबार बागमती प्रदेशको सम्मेलन उद्घाटनमा उपसभापति खड्का र नेता कोइराला दुवै अनुपस्थित भए । प्रदेश कार्यसमितिका सदस्य जगदीशनरसिंह केसीका अनुसार बागमती प्रदेश कार्यसमितिका सभापति इन्द्र बानियाँले उपसभापति खड्कालाई सभापतिपछिको विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेका थिए तर खड्का सुर्खेतको कार्यक्रममा व्यस्त भएकाले साँझ समापनमा कार्यक्रममा मात्रै सहभागी भए । कोइराला भने विराटनगर पुगेका थिए । केसीले कोइरालालाई आमन्त्रणसमेत नभएको जानकारी आफूले पाएको बताए ।

जनकपुरमा बिहीबार आयोजित सम्मेलनमा पनि देउवापछिको विशिष्ट अतिथिको स्थानमा नराखिएपछि कोइराला सहभागी भएनन् । उनी त्यस दिन मधेश प्रदेशको सम्मेलन छाडेर इनरुवा पुगेका थिए ।

मधेश सम्मेलनमा कोइरालालाई वरिष्ठ नेता नभई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरिएपछि उनी निकट स्थानीय नेताहरूले प्रदेश कार्यसमितिमा ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए । देउवापछिको वरीयतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन् । पार्टीका अन्य जिल्लामा भएका सम्मेलनहरूमा पनि कोइराला पुगेका कार्यक्रममा खड्का र खड्का पुगेका कार्यक्रममा कोइराला नजाने गरेका छन् । पछिल्लो समय पार्टीका बैठक र औपचारिक छलफलबाहेकमा खड्का र कोइरालाको भेटघाट र संवादसमेत हुन छाडेको छ ।

कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग संस्थापन इतरपक्षीय नेताहरूले उठाउँदै आएका छन् । पार्टीभित्रको शक्ति सन्तुलन र परम्परालाई कायम राख्न पनि सभापतिले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए । ‘आन्तरिक सन्तुलनका निम्ति पार्टीभित्र प्रतिपक्षको नेता जो छ, त्यसलाई सम्मानस्वरूप वरिष्ठ नेता दिने परम्परा हो,’ उनले भने, ‘सभापतिजीले त्यो परम्परालाई कायम राख्ने कि नराख्ने भन्ने कुरा उहाँमा निर्भर छ । वरिष्ठ नेता नबनाउँदा उपसभापतिले दोस्रो वरीयताको दाबी गर्नु अस्वाभाविक होइन ।’

पार्टी विधानमा ‘वरिष्ठ’ नेताको व्यवस्था छैन । ०६४ मा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेस (प्रजातान्त्रिक) सँग एकीकरण गर्दा त्यसका सभापति देउवालाई वरिष्ठ नेताको स्थान दिएका थिए । १२ औं महाधिवेशनबाट सभापति बनेका सुशील कोइरालाले आफ्नो प्रतिस्पर्धी देउवालाई विधानमा नभए पनि वरिष्ठ नेताकै हैसियत दिएका थिए । १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेललाई उसैगरी वरिष्ठ नेताको हैसियत दिइएको थियो ।

१४ औं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर देउवाका प्रतिस्पर्धी बनेका कोइरालालाई अघिल्ला परम्परा अनुसार नै वरिष्ठ नेताको हैसियत दिनुपर्ने आवाज संस्थापन इतरपक्षीय नेताहरूले उठाउँदै आएका छन् । खड्कासहितका संस्थापन पक्षका अधिकांश नेताहरू भने महाधिवेशनमा पाएको भोटका आधारमा नभएर पार्टीमा गरेको संघर्ष, योगदान र क्रियाशीलताका आधारमा ‘वरिष्ठता’ निर्धारण हुनुपर्ने तर्क गर्दै आएका छन् । उनीहरूले जबर्जस्ती पगेरी दिनेभन्दा पनि मनबाटै वरिष्ठ नेता भनेर स्वीकार्य हुनुपर्ने तर्क अघि सार्दै आएका छन् । शनिबार बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीभित्रको संघर्ष र योगदानका आधारमा मात्रै वरिष्ठता निर्धारण हुनुपर्ने भन्दै कोइरालालाई वरिष्ठ नेता स्वीकार्य नहुने संकेत गरे ।

‘भोटका कारणले होइन । पार्टीमा जिन्दगी दिने, संघर्ष गर्ने, जेलनेल भोग्ने ‘सिनियर’ लाई मात्रै वरिष्ठ नेता मान्छन् । म महामन्त्री हुँदा सुशील कोइराला सभापति हुनुहुन्थ्यो । वरिष्ठ नेताको व्यवस्था विधानमा छैन । शेरबहादुरजीलाई बनाउँदा के हुन्छ भनेर भन्नुभयो । यसमा केको विवाद छ र ? सिनियर नहुँदा पो प्रश्न हो भनेर भनें,’ सिंहले सम्मेलनमा बोल्दै भने, ‘सिनियर हुँदै नभएकालाई वरिष्ठ मान्ने भन्ने हुन्न । जेल गएका, संघर्ष गरेका र पार्टीलाई जिन्दगी दिएका रामचन्द्र पौडेललाई सबैले वरिष्ठ नेता मानेकै हो । त्यसै वरिष्ठ हुने कुरा हुँदैन । कांग्रेसलाई सुधार गर्ने हो भने लिंग, उमेर र व्यावसायिक क्षेत्रमा सन्तुलन खोजौं ।’

राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडा पार्टी सभापति देउवा र पौडेलले पाएको वरिष्ठ नेताको हैसियत महाधिवेशनमा पाएको मतका आधारमा नभएको बताए । ‘दुई पार्टी एकीकरण गर्दाको अवस्थामा तत्कालीन कांग्रेस (प्रजातान्त्रिक) का सभापतिको हैसियतले पार्टी सभापतिलाई त्यतिबेला वरिष्ठ नेताको स्थान दिइएको हो । पछि सभापतिज्यूले पार्टीमा लामो संघर्ष गरेको र आफ्नो समकक्षीसमेत भएकाले पौडेल दाइलाई वरिष्ठ दिनुभएको हो,’ उनले भने, ‘नवौं महाधिवेशनमा गिरिजाप्रसादसँग प्रतिस्पर्धा गर्दा शेरबहादुर दाइलाई वरिष्ठ दिइएको होइन । आठौं महाधिवेशनमा चिरञ्जीवी वाग्ले पनि गिरिजाप्रसादसँग प्रतिस्पर्धा गर्नॅभएको थियो । उहाँले पनि वरिष्ठ पद पाउनुभएको होइन ।’

उनले वरिष्ठको खोजीभन्दा एकअर्कामा सम्मान गर्ने पद्धति बसाल्न पार्टीमा आवश्यक भएको बताए । ‘विधानमा व्यवस्था छैन । चुनावमा उठेको भरमै वरिष्ठ होला जस्तो लाग्दैन । कि त विधानमा राख्नुपर्छ । पार्टीको उपसभापति पनि चुनावबाटै आउने व्यवस्था भइसकेको छ, त्यसलाई पनि हेर्नुपर्छ,’ उनले भने, ‘अब यो विवादलाई धेरै लम्बाउनु हुन्न । यसलाई पार्टीले चाँडो टुंग्याउनुपर्छ । आफ्नो मर्यादाभन्दा पनि जनताका मर्यादालाई ख्याल गर्नुपर्ने समय आएको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।