Banner News

जहाज खरिदमा कुनै त्रुटि र विवाद हुने काम नगर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ, ८ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आज दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा प्रधानमन्त्रीले जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्ने बताए ।

“नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ । यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्,” प्रधानमन्त्रीले भने ।

नेपालका कतिपय नीति नियम पर्यटकमैत्री नभएको बताउँदै उनले ती परिवर्तन गरेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोच्नुपर्ने बताए ।