Banner News

प्रधानमन्त्रीको ध्यान अब ठूला जलविद्युत् आयोजनामा




काठमाण्डौ,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ले अब सरकारले गेमचेञ्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेञ्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताएका हुन् ।

बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट गर्दै उनले तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको जानकारी दिए ।

त्यस्तै, १ हजार ९ सय २ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले हाल कार्यान्वयनमा रहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनालाई आफूले सिधै सहजीकरण गरिरहेको र १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरूण आयोजनाका लागि लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

आउँदो दुईदेखि तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिब ५६४ मेगावाट थप विद्युत् उत्पादन हुने जानकारी दिँदै उनले हालसम्म ९ हजार १ सय ६४ मेगावाटका जलविद्युत् आयोजनाको निजीक्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ । जसमध्ये यस वर्ष मात्र करिब २२ सय मेगावाटबराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको स्पष्ट गरे ।

‘सुनकोशी मरिन डाइभर्सन तथा कमला डाइभर्सन सिँचाइ आयोजनाहरूलाई समेत थप पानी उपलब्ध गराउन सक्ने ६७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना पनि सरकारको प्राथमिकतामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदै छ। प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले सुरु गरिसकेको छु ।