समाचार

एक हजार केजी गाँजासहित पक्राउ



राजविराज, २१ पौष । बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७, कल्याणपुर चोकबाट उक्त गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार ६ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनका अनुसार, उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै टिपरचालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

सप्तरीको राजगढ गाउँपालिका–२, झौरा चोकबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एकजनालाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । रासस