राजनीति

मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै आयोग



काठमाडौँ, २२ पौष । राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम  नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पौष २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ ।  पौष २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् । 

प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ । निर्वाचन आयोगले रिक्त र निलम्बनबाहेक राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सदस्य ५४९ र पालिकाका प्रमुख–उपप्रमुख १४ सय ९८ कायम गरेको छ । निर्वाचन कार्यतालिका अनुसार पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने पुस २८ मा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय  छ । फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ (एक मनोनीत सहित), कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।  

गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।