समाचार

कोरोनको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी



काठमाडौँ, २४ पौष । नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो ।

छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा जेएन वान देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको छ ।

प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क र स्वास्थ्य कार्यालयहरूमार्फत् स्क्रिनिङ र निगरानी निरन्तर गर्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।