विश्व

माल्दिभ्सका राष्ट्रपति मुइज्जुको भारतलाई उसको सेना हटाउने आग्रह



काठमाण्डौ, १ माघ ।माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशमा तैनाथ भारतीय सेनालाई मार्च १५ सम्म हटाउन आग्रह गरेका छन्।

माल्दिभ्सस्थित भारतीय दूतावासका अधिकारीहरूलाई राष्ट्रपति मुइज्जुले औपचारिक रूपमा आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न आग्रह गरेको उनका सहयोगी अब्दुल्ला नजिम इब्राहिमले पत्रकारहरूसमक्ष भनेका छन्।

आइतबार राजधानी मालेमा बसेको द्विपक्षीय उच्चस्तरीय बैठकमा माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नुपर्ने विषयमा छलफल भएको थियो।

चीन भ्रमणबाट फर्किएलगत्तै राष्ट्रपति मुइज्जुले भारतलाई लक्षित गर्दै ठूला देशहरू साना देशमाथि हेप्ने लाइसेन्सप्राप्त नहुने बताएका थिए। दोस्रो दिन नै उनले भारतले सेना फिर्ता लैजानुपर्ने बताउँदै त्यसका लागि भारतीय दूतावासलाई आग्रह गरेका हुन्।
माल्दिभ्सका टापुमा कम्तिमा ७५ जना भारतीय सैनिक तैनाथ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारत सरकारले सन् २०२०मा दिएको सैनिक विमान सञ्चालन गर्नका लागि सन् २०२१ देखि भारतीय सेना माल्दिभ्सको टापुमा बस्दै आएका छन्। उनीहरूले विशेषगरी उद्धारको काममा ती विमानहरू प्रयोग गर्ने बताएको छ।
माल्दिभ्सले ती सैनिक फिर्ता गर्न आग्रह गरेको हो। राष्ट्रपति चुनावअघि नै माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुनुपर्ने विषय जोडतोडले उठेको थियो। त्यही पक्षको नेतृत्व गरेर मुइज्जु नयाँ राष्ट्रपति बनेका हुन्।

महिनौंसम्म उनको पार्टीले ‘इन्डिया आउट’ को अभियान समेत चलाएको थियो।उनले विपक्षी दलका नेताहरूले राष्ट्रिय सार्वभौमसत्तासँग सम्झौता गर्दै भारतीय सेनालाई आफ्ना टापुहरूमा बस्न दिएको आरोप लगाउने गरेका छन्।