विश्व

चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घट्यो



एजेन्सी, ३ माघ । चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको छ । सन् २०२३ मा पनि चीनको जनसंख्या घटेको हो । 

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा यसले जनसांख्यिकीय चुनौतीको संकेत गरेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस)ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको जनसंख्या १ अर्ब ४० करोड ९० लाख रहेको छ ।

अघिल्लो वर्षको तुलनामा चीनको जनसंख्या करिब २० लाख घटेको हो । एनबीएसले गत वर्ष चीनको अर्थतन्त्र ५.२ प्रतिशतले बढेको जनाएको छ । सन् २०२२ मा भने चीनको अर्थतन्त्र ३ प्रतिशतले मात्रै बढेको थियो । चीनको जन्मदर पनि प्रतिएक हजारमा ६.३९ मा झरेको छ । अघिल्लो वर्ष यो जन्मदर ६.७७ रहेको थियो ।

सन् २०२३ मा चीनका करिब ९० लाख शिशु जन्मिएका छन् । सन् २०२२ मा यो संख्या करिब ९५ लाख थियो । सीएनएन