समाचार

आजको मौसम



काठमाडौँ, १३ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।

विज्ञानका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा सफा रहेको छ। मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही क्षेत्रमा हिमपात तथा तराई–मधेशमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवामा प्रभाव पर्न सक्ने भएकाले यसबाट हुने असरबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।काठमाडौँमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । 

आज सूर्योदय बिहान ६ बजेर ५३ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४० मिनेटमा हुनेछ ।