विश्व

अमेरिकाद्वारा इराक र सिरियामा हवाई आक्रमण



वासिङ्टन, २० माघ ।  जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

एबीसी न्यूजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “जोर्डनस्थित अमेरिकी सैन्य शिबिरमा आइतबार ड्रोन आक्रमण गरेपछि इरान समर्थित लडाकूविरुद्ध जवाफी हवाई आक्रमण हुन सक्ने सम्भावना छ ।” अमेरिकी समाचार संस्था एपीका अनुसार मानवसहित र मानवरहित विमानले कमाण्ड एण्ड कन्ट्रोल हेडक्वार्टर, गोलाबारुद भण्डारण र अन्य सुविधामा आक्रमण गरेका छन् । ह्वाइट हाउसले ड्रोन आक्रमणका लागि ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक छाता समूह जिम्मेवार रहेको बताएको छ ।

रणनीतिक सञ्चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले ह्वाइट हाउसको नियमित पत्रकार सम्मेलनमा ४० जनाभन्दा बढी अमेरिकी सैनिक घाइते भएको उक्त घटना ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले स्रोत साधन र सहयोग गरेको योजनाबद्ध आक्रमण भएको बताउनुभएको छ ।