समाचार

यो वर्षको अन्तिमदेखि एचपीभी खोप दिने सरकारको तयारी 



काठमाडौँ, २१ माघ । सरकारले सन् २०२४ को अन्तिमदेखि १४ वर्षसम्मका सबै किशोरीलाई एचपीभी खोप दिने तयारी गरेको छ ।

गएको भदौदेखि ‘डेमोस्ट्रेसन’ कार्यक्रमका रूपमा सुरु गरिएको पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’विरुद्धको खोप अब लक्षित उमेरका सबैलाई दिन लागिएको हो ।

नियमित खोप तालिकामा समेटेर १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई सो खोप दिने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जानकारी गराएको छ ।

भदौ २७ गतेदेखि झन्डै १५ दिनसम्म सञ्चालन गरिएको एचपीभी खोपको कार्यक्रममा १४ पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई सो खोप दिइएको थियो । त्यसअन्तर्गत नौ हजार ९८० जनाले खोप लगाएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाको तथ्यांक छ ।

पहिलो डोज लगाएकालाई दोस्रो मात्रा आउँदो फागुन अन्तिमदेखि चैतसम्म दिने सरकारको तयारी छ । आउँदो वर्ष भने अभियान सञ्चालन गरी १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई खोप दिने खोप शाखाको तयारी छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको तथ्यांकमा यो उमेर समूहका बालिका/किशोरीको संख्या १६ लाख ८८ हजार ७६८ छ ।