अर्थ

राष्ट्र बैंकले अवकाश कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा राख्ने



काठमाडौँ, २२ माघ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेपको रूपमा राख्ने भएको छ । बैंकले २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म कुल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी(मुद्दती निक्षेप) मा राख्ने भएको हो । 

बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई उचित ब्याजदरसहित चाहेको रकम माग गरी दरखास्त हाल्न आह्वान गरेको छ । फागुन ६ गते जारी हुने निक्षेपका लागि २०८० माघ २३ गते बेलुका ७ बजेभित्र अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

सूचना अनुसार कूल २५ करोडमध्ये २० करोड रुपैयाँ वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ७५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरुका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।