समाचार

राक्सिराङमा फैलिएको भाइरल ज्वरो नियन्त्रण



काठमाडौँ, २४ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिका ९ टर्लिङमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत नवदीप सिलवालका अनुसार ६ दिनअघिदेखि फैलिएको ज्वरो मंगलबारबाट नियन्त्रणमा आएको हो । दूषित पानीका कारण ज्वरो फैलिएको हुनसक्ने स्वास्थ्य कार्यालयको अनुमान छ ।

यकिन कारण पहिचान गर्न बिरामीहरूको नमूना हेटौँडा अस्पताल प्रयोगशालामा परीक्षण भइरहेको सिलवालले जानकारी दिए । मंगलबार साँझसम्म टर्लिङ गाउँका १३० स्थानीयमा भाइरल ज्वरो देखिएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक छ । ज्वरोका कारण शुक्रबार टर्लिङ ९ का ६० वर्षीय टिकाबहादुर नगरकोटीको मृत्यु भएको थियो ।