समाचार

चार दिनमा आगोमा परेर ६ जनाको मृत्यु



काठमाडौँ, २५ माघ । गएको चार दिनमा ६ जनाको आगोमा परेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गएराती अछामको मेल्लेख गाउँको एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परि ज्यान गएको हो ।

मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको ज्यान गएको हो ।

चार दिनअघि मात्रै डडेलधुरा र मुुगुमा आगलागीमा परेर चार जनाको ज्यान गएको थियो । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको तथा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ गोडेखोलामा आगलागीमा परेर दाजुबहिनीको ज्यान गएको थियो ।

जाडोको बेला आगो ताप्दा र हावाहुरी चल्ने बेला आगोको काम गर्दा विशेष ख्याल गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।