अर्थ

डेरी सङ्घद्वारा दूध आयातमा लगाइएको प्रतिबन्धको स्वागत



झापा, १२ फागुन । कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ ।

सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो ।

सङ्घले किसानबाट खरिद गर्दै आएको दूधको भुक्तानी नियमित गर्ने निर्णय गरेको छ । कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट सङ्कलन गरेको दूधको भुक्तानीमा ठूलो समस्या नरहेकोसमेत बताइएको छ । कोशी प्रदेशमा रहेका डेरी उद्योगमा नौनी घ्यू, एसएमपी र छुर्पीको स्टक आवश्यकभन्दा ज्यादा भएको जनाउँदै बैठकले आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।

बैठकमा एनएमसी डेरी उद्योग, सगरमाथा डेरी सङ्घ, कामधेनु दुग्ध सहकारी, रितिका डेरी उद्योग, शिवम् डेरी इन्डस्ट्रिज, गोरस डेरी प्रालि, जीवन विकास डेरी र मदानी मिल्क हाउसका सञ्चालकको सहभागिता रहेको थियो ।