राजनीति

मन्त्रीको हेरफेर हुनसक्छ : परराष्ट्रमन्त्री



काठमाडौँ, १९ फागुन । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् ।

आज भैरहवामा कांगे्रस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रजातन्त्र रक्षाका निम्ति गठबन्धनको आवश्यकता औँल्याए । मन्त्री साउदले भने, “जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ । तर, गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ,” “प्रजातन्त्र रक्षाका लागि, पार्टी र  राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।”

फरक प्रसंगमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भारतबाट हुन सक्ने सहयोगका निम्ति विभिन्न भ्रमणका बेला गम्भीर रूपमा कुरा राखेको उल्लेख गरे । उनले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिए ।