समाचार

नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित



काठमाडौँ, १९ फागुन । नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै नेपालले घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । रोहितले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले ३६ बलमा दुई चौका र एक छक्कासहित ३८ रन थपे । ओपनर कुशल भुर्तेलले १२ रन जोडे ।

नेदरल्यान्ड्सका भिभियन किंग्माले तीन विकेट लिए । आर्यन दत्तको नाममा एक विकेट रह्यो । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो । नेदरल्यान्ड्सका म्याक्स ओ‘डाडले ३१ रन बनाए । टिम भान डेर गुग्टेने २४, रोइलोफ भान डेर मेर्वेले २३ र कप्तान स्कट एड्वार्ड्सले १८ रन जोडे ।

नेपालका प्रतिश जिसीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका प्रतिशले एक मेडन फ्याँक्दै १३ रन खर्चिए । करण केसी र कुशल मल्ले समान दुई र दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो । शृंखलामा नेपालको यो दोस्रो जित हो । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाए पनि आइतबार हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलपछि मात्र शीर्ष दुई टिमको टुंगो लाग्नेछ ।