समाचार

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु  



उदयपुर, १९ फागुन । उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नंको जिप दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो । वडाध्यक्ष नवीन तामाङका अनुसार कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ ।

घटनामा गम्भीर घाइते लालकुमारीको कटारी अस्पतालमा उपचार सम्भव नभई थप उपचारका लागि विराटनगर पठाइएको थियो । लालकुमारीको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास राईले बताए । जिप चालक कटारी–८ का ३३ वर्षीय थर्मसिंह तामाङ प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।