समाचार

अवैध लागूऔषधसहित तीन जना पक्राउ



कञ्चनपुर, २३ फागुन । कञ्चनपुरको भिमदत्त नगरपालिका-११ भुजेलाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले मंगलबार राति सोही नगरपालिका–१८ भगतपुर बस्ने १९ वर्षीय दिपक महरा, सोही नगरपालिका-१८ डेरा गरी बस्ने बैतडी पुर्चुडी नगरपालिका–५ घर भएका ३० वर्षीया अमृता खत्री बोहरा र दोधारा चाँदानी नगरपालिका–७ बस्ने १८ वर्षीया किशोरीलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।