समाचार

दादुरा-रुबेलाविरुद्धको खोप २० लाख बालबालिकाले लगाए



काठमाडौँ, २४ फागुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनानुसार करिब ३४ प्रतिशतले खोप लगाएका छन् ।

३१ जिल्लाबाट अझै रिपोर्ट प्राप्त भएको छैन भने हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खर मात्रै अभियान सञ्चालन गरेका छन् । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आउँदो चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।