समाचार

लुम्बिनीमा एकैपटक एक हजार दुई सय ५० भिक्षु



लुम्बिनी, २७ फागुन । बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा प्रव्रज्या आयोजना गरिएको छ ।

शनिबार मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय ५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन् ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा एक हजार दुई सय ५० जनालाई कूलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थविर धम्म शोभन र थाइल्याण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभनासहित बौद्ध धर्मगुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका थिए । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका १० वटा नियम पालना गर्नुपर्ने नियम छ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने छ । भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियम पालना गर्नुपर्छ ।