समाचार

पाथीभरामा केबलकार बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल



ताप्लेजुङ, २ चैत । ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व संघसस्थाले पाथीभरा मुकुम्लुङ केबलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केबलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त रूपमा अपिल गरेका हुन् ।

अपिलमा पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर रहेको तथा सो शक्तिपिठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत त्यहाँका धेरै सम्प्रदायका नागरिकहरू दर्शन तथा पूजाका लागि आउने गरेकोले यस क्षेत्रको विकासमा थप योगदान गर्नु पर्ने समय आएको उल्लेख छ । विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको छ ।