समाचार

‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन



दमौली, २ चैत । यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ ।

बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यहीे बिहीबारदेखि ती परीक्षा स्थगित गरेको हो । विशेष कारणवश दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको कार्यालय प्रमुख टीकाबहादुर गोदारले जानकारी दिए ।  

सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको जनाइएको छ । आयोगले यस विषयमा छानबिन गरेकाले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो । यातायात कार्यालय पनि भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।