समाचार

हुण्डी कारोबारी पक्राउ



काठमाडौँ, ३ चैत । पर्साबाट चारजना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ४ लाखभन्दा बढी हुण्डीको रुपैयाँ तथा विभिन्न बैंकको चेकबुकसहित चार जनालाई पक्राउ गरेको हो । आफ्नै घरबाट हुण्डी कारोबार गरिररहेको सूचना प्राप्त भएपछि छापामारी रकमसहित चार जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० निवासी कुनाल कुमार जैसवालको घरमा छापामारी गरेको हो । कुनालको घरमा छापामारी गरेर वीरगन्ज वडा नम्बर १० का वीरेन्द्र साह तेली, रेखा कुमारी साह र जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी मितु कुमार कुर्मीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

प्रहरीको विशेष टोलीले कुनाल किराना पसलबाट छापामारी गर्दा ४ लाख ३ हजार रुपैयाँसहित विभिन्न बैंकका चेकबुक, काटिएका चेक तथा बैंकमा जम्मा गरिएका डिपोजिट स्लीपहरु बरामद गरेको जनाएको छ । पक्राउ परेका चारै जनामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।  पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।