समाचार

आगलागीबाट एक करोड ५० लाखको क्षति



काठमाडौँ, ४ चैत । मोरङको पथरी शनिश्चरे– १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ ।

प्रहरी कार्यलय पथरीका अनुसार राति १२ बजे मिलमा आगलागी हुदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए ।

स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।