राजनीति

दीपक मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री



गण्डकी, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । 

गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनःगठन गरेको हो । गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

पुनःगठित मन्त्रिपरिषदमा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जीसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएकाले नवनियुक्त मन्त्रीको शपथ आजै दिउँसो ३ बजेका लागि तय भएको हो ।