राजनीति

सौर्य रुफटप प्रणाली जडानको सम्भाव्यताबारे छलफल



काठमाडौँ, १३ चैत । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सौर्य रुफटप प्रणाली प्रवर्द्धन सम्बन्धमा निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) सँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । मध्यबानेश्वर स्थित केन्द्रको कार्यालयमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा केन्द्रतथा केन्द्र अन्तर्गतका कार्यक्रमहरु, प्याब्सन, सौर्य ऊर्जा प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्रका कम्पनी तथा सो को छाता संगठन (सिम्यान), ऊर्जा सेवा प्रदायक कम्पनीबाट ४० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

केन्द्र र जर्मन सरकार (जर्मन सहयोग नियोग अन्तर्गत KFW मार्फत) कोसहयोगमा सञ्चालित ग्रामीण तथा अर्धशहरी क्षेत्रको लागि सौर्य ऊर्जा प्रवर्द्धन (Promotion of Solar Energy in Rural and Semi-urban Regions of Nepal) आयोजना (डि.के.टि. आइ. आयोजना)एवं केन्द्र र बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम -Nepal Renewable Energy Programme-NREP) अन्तर्गत डिजेल खपत भइरहेका उद्योग तथा निजी व्यवसायहरुमा हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्नको लागि सौर्य रुफटप प्रणाली जडान गर्ने कार्य भइरहेको छ ।नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ बमोजिम सौर्य रुफटप प्रणाली जडानको लागि “व्यावसायिक प्रयोजनका लागि १५०० वाट पिक क्षमताभन्दा बढी र घरायसी प्रयोजनका लागि ५०० वाट पिक क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडानका लागि ५ बर्षे मासिक किस्तामा बैंक ऋण लिँदा व्यावसायिक प्रयोजनको लागि ब्याजको ५० प्रतिशत रकम र घरायसी प्रयोजनको लागि ब्याजको ७५ प्रतिशत रकम अनुदान स्वरुप बैंक मार्फत उपलब्ध गराइने” प्रावधान रहेको छ । त्यसैगरी केन्द्रीय नवीकरणीय ऊर्जा कोष (सञ्‍चालन) निर्देशिका, २०७१ (पहिलो संसोधन, २०७८) मा राष्ट्रिय प्रसारणमा जडान हुने र कम्तिमा वार्षिक उत्पादित विद्युतको ५१  प्रतिशत स्व-उपयोग गर्ने क्याप्टिभ आयोजनालाई प्रस्तावक संस्थाले लिने कर्जाको ब्याजमा वित्तीय संस्थाले तोकेको ब्याजकोपाँच वर्षसम्मको बढीमा पचास प्रतिशतसम्मब्याज सहुलियत वा उत्पादित विद्युतमा पाँच बर्षसम्मको लागि प्रति युनिट बढीमा एक रुपैया ५० पैसा भायबिलिटी ग्याप फण्डिङ्ग उपलब्ध गराउने व्यवस्था रहेको छ ।

कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले हाल सञ्चालित उल्लेखित २ वटा कार्यक्रम अन्तर्गत कूल ३१ मेगावाट सौर्य रुफटप प्रणाली जडान गर्ने लक्ष्य लिएको बताउनुहुँदै सो लक्ष्य हासिलको लागि प्याब्सनसँग आबद्ध करीब ७,००० निजी तथा आवासीय विद्यालयहरु सौर्य रुफटप प्रणाली जडानको लागि सम्भावित क्षेत्रको रुपमा रहेको बताउनुभयो । साथै उहाँले सौर्य ऊर्जामा आधारित रुफटप प्रणालीको जडानले उद्योग व्यावसायमा दैनिक रुपमा प्रयोग हुने डिजेल खपतमा कमी ल्याइ हरित ऊर्जाको उपयोगबाट कार्वन उत्सर्जन न्यूनीकरणमा सघाउ पुर्‍याउनुको साथै सौर्य रुफटफ प्रणालीले दिउँसोको समयमा ऊर्जा उत्पादन गर्ने हुँदा स्टोरेज क्षमता भएका जलविद्युत आयोजनामा विद्युतको माग बढी हुने समयको लागि पानीको भण्डारण गरी बिद्युत सुरक्षालाई समेत सहयोग गर्ने बताउनुभयो । साथै उहाँले सौर्य ऊर्जा रुफटप प्रणालीलाई नेट मिटरिङ (Net-metering) प्रक्रियाद्बारा ग्रिडमा जोड्न समेत सकिने हुनाले औद्योगिक क्षेत्रमा उत्पादित विद्युत खपत नहुने समयमा ग्रिडमा आपूर्ति गरी राष्ट्रिय प्रसारण प्रणालीलाई गुणस्तरीय र भरपर्दो बनाउन सहयोग पुग्ने बताउनुभयो ।

प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीले सौर्य रुफटप प्रणाली जडानमा प्याब्सनको चासो रहेको बताउँदै सौर्य ऊर्जाबाट उत्पादित विद्युत तथा विद्युत उत्पादनका उपकरणहरु विश्वसनीय गुणस्तरीय र भरपर्दो हुनु आवश्यक रहेको बताउनुभयो । लोडसेडिङ्ग भएको अवस्थामा विद्युतको वैकल्पिक स्रोतको रुपमा उपयोग गर्न सकिने भएकोले मन्टेश्वरी सहित लगभग १२ हजारको संख्या (हाल प्याब्सनमा आबद्ध ७ हजार सहित) मा रहेका निजी तथा आवासीय क्षेत्रहरु सौर्य रुफटप प्रणाली जडानको महत्वपूर्ण क्षेत्र बन्न सक्ने  बताउनुभयो । साथै उहाँले चाडै नै प्याब्सनले सौर्य रुफटप प्रणालीको सम्बन्धमा केन्द्रसँगको सहकार्यमा प्याब्सनकै कार्यालयमा कार्यशाला आयोजना गरी यस सम्बन्धी सरोकारवाला विद्यालयहरुसँग थप छलफल गर्ने बताउनुभयो । प्याब्सनका महासचिव आर. बि. कटुवालले आजको छलफलबाट सौर्य रुफटप प्रणालीबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै आगामी दिनमा केन्द्रसँगको सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

नेपाल सौर्य विद्युत उत्पादक संघ (सिम्यान)का अध्यक्ष कृष्ण प्रसाद पराजुलीले सौर्य रुफटप प्रणालीको महत्वको बारेमा बोल्दै कम्पनीले प्रदान गर्ने सेवामा शत प्रतिशत ग्यारेन्टी प्रदान गर्ने बताउनुभयो । साथै उहाँले नेपालका सौर्य ऊर्जा कम्पनीहरु ग्राहकले चाहेजस्तो सेवा प्रदान गर्न सक्षम रहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रका निर्देशक डा. नारायण प्रसाद अधिकारीले विश्व परिवेशमा जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको महत्व उल्लेखनीय रहेको बताउँदै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा प्याब्सनसँग सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।साथै हालको नीतिगत व्यवस्थालाई सरलीकृत गर्दै प्याब्सनमा आबद्ध ७००० निजी तथा आवासीय विद्यालयहरुमा सौर्य रुफटप प्रणाली को प्रवर्द्धनमा जोड दिइने बताउनुभयो ।

कार्यक्रममा नेपाल नवीकरणीय ऊर्जाको कार्यक्रमको तर्फबाट कार्यक्रमका सल्लाहकार बद्रीनाथ बरालले कार्यक्रमको कार्यान्वयन ढाँचा तथा कार्यक्रमबाट हुने आर्थिक प्राविधिक सहयोग सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो भने डि.के.टि.आइ. आयोजनाको तर्फबाट डिपुटी टिम लिडर खेमराज भण्डारीले कार्यक्रमको समग्र पक्षको बारेमा प्रस्तुती दिनुभएको थियो ।कार्यक्रममा केन्द्र अन्तर्गत सौर्य तथा वायु ऊर्जा शाखा प्रमुख  डा. लक्ष्मण प्रसाद घिमिरेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण डि.के.टि.आइ. आयोजनाका आयोजना व्यवस्थापक सन्तोष राइले गर्नुभएको थियो ।