शैक्षिक

पाठ्यपुस्तक बिक्री सुरु



काठमाडौँ, १४ चैत । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ ।

जनक शिक्षाले मंगलबारदेखि प्रदेशका पुस्तक व्यवसायीलाई पुस्तक बिक्री–वितरण सुरु गरेको हो । प्रदेशका पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा ढुवानी सुरु गरेको र दुई दिनसम्म त्यहाँ पुस्तक ढुवानी गरिने छ ।

त्यस लगतै अन्य जिल्लामा पुस्तक ढुवानी गरिने भएको छ । केन्द्रले शैक्षिक सत्र २०८१ का लागि हाल प्रदेशमा कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको हो ।

कक्षा १ देखि ४ सम्म निजी क्षेत्रले पुस्तक बिक्री वितरण गर्दै आएकोमा आगामी शैक्षिक सत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक पनि २० प्रतिशत छुटमा बिक्री–वितरण गर्ने बताइएको छ । कक्षा ११ र १२ का लागि भने पछिल्लो चरणमा पुस्तक बिक्री वितरण गरिने भएको छ ।