समाचार

अब अनलाइनबाटै मुद्दाको सुनुवाइ गर्न सकिने



काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ ।

बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ आगामी आइतबारदेखि नियमित रुपमा अघि बढ्नेछ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो ।

अनलाइन सुनुवाइको सुरुवातबारे प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश श्रेष्ठले टाढाका सेवाग्राहीलाई अदालत परिसरमै उपस्थित हुनुपर्ने बाध्यता हटेको बताए । ‘देशभर क्षेत्राधिकार भएको विशेष अदालतले सुरुवात गरेको अनलाइन सुनुवाइ प्रणालीले सेवाग्राहीहरु अदालतमै आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यसबाट छिटोछरितो न्यायसम्पादनमा सहयोग पुग्ने विश्वास छ’, उनले भने ।

अब विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ । कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् । विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालयलाई पनि कार्यालयबाट बहस गर्न सकिने भनी पत्र पठाएको छ ।

एउटा पक्ष अदालतमा उपस्थित हुने र अर्को पक्ष अनलाइनबाट बहस गर्न चाहेमा दुवैले बहस सुन्न र त्यसको प्रतिवाद गर्न अनुकुल हुनेगरी इजलासमा मनिटर र स्पिकरको व्यवस्था गरिएको छ । विशेष अदालतले सुरु गरेको अनलाइन बहस अहिलेका लागि ऐच्छिक हो । कानुन व्यवसायीहरुले चाहेमा मात्रै अदालतले उनीहरुलाई अनलाइन बहसको सुविधा दिने गरेको छ । अदालतमै उपस्थित हुन चाहने कानुन व्यवसायीले यसअघिकै प्रक्रिया अनुसार इजलासमा उपस्थित भएर बहस गर्न सक्नेछन् ।