अर्थ

जथाभाबी फोहर फाल्नेबाट २७ लाख राजस्व सङ्कलन



काठमाडौँ, १७ चैत । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा जथाभाबी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार नौ सय रुपैयाँ जरिवानाबापत राजस्व सङ्कलन गरेको छ ।

जथाभाबी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो । महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार २०७९ साल पुस १७ गतेदेखि जरिबानाको नियम लागू भएकोमा अहिलेसम्म नौ सय जना कारबाहीमा परिसकेका छन् । महानगरले २७ लाख दुई हजार छ सय पाँच रुपैयाँ जरिबानाबापत राजस्व सङ्कलन गरिसकेको छ । अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने महानगरको योजना छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सफाइ हुँदै आएको छ ।