Banner News

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमाले सरकारमा सहभागी हुने



हेटौंडा, १७ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

एमालेबाट एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको स्रोतले जनाएको छ । जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने तय भएको छ । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको छ ।

स्रोतका अनुसार थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुनेछ । एमालेका एक सांसदका अनुसार आज एक जना मात्रै मन्त्री नियुक्त हुने र १९ चैतमा मुख्यमन्त्रीको विश्वासको मतपछि थप मन्त्रिपरिषद् विस्तार हुनेछ ।एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ । रिक्त ६ वटा मन्त्रालयमध्ये १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।