अर्थ

एकै महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए



काठमाडौँ, १९ चैत । कोरोनापछि सन् २०२४ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएको ‘रेकर्ड’ बनेको छ । 

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मार्चमा एक लाख २८ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१८ को नोभेम्बरमा एक लाख ४७ हजार ८५९ पर्यटक नेपाल भित्रिएका थिए । तर, विश्वभरी नै कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएको थियो । 

मार्चमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । मार्चमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । यस महिनामा भारतबाट ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् ।  दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट १२ हजार ९३ जनाले नेपाल भ्रमण गरेका छन् । तेस्रो स्थानमा रहेका यूएसएबाट १० हजार ७६३, चौथो स्थानमा रहेको यूकेबाट सात हजार २४१ पर्यटक नेपाल आएका छन् । 

श्रीलंकाबाट पाँच हजार ७४१, जर्मनीबाट चार हजार २५५, थाइल्यान्डबाट चार हजार ५६७, अस्ट्रेलियाबाट चार हजार ३४५ फ्रन्सबाट तीन हजार २४० र म्यानमारबाट तीन हजार १३१ पर्यटक नेपाल आएका छन् ।