Banner News

आयरल्यान्ड ए माथि नेपालको रोमाञ्चक जित



काठमाडौँ, १९ चैत । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २/१ ले गुमाएको छ ।

२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए ।

एक समय ७.१ ओभरमा ५२(४ को अवस्थामा पुगेको आयरल्यान्डलाई चौथो विकेटका लागि मोर्गन र ग्यारेथ डेलानीले १२९ रनको सानदार शतकीय साझेदारी गर्दै जितको आशा कायम राखेका थिए । आयरल्यान्ड ए लाई ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए ।

नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ । आयरल्यान्ड ए र नेपाल ए बीच अव एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।