राजनीति

सञ्चारमाध्यमलाई जनताको आवाज सरकारसमक्ष पुर्याउने माध्यमका रूपमा विकास गर्न आवश्यक : मन्त्री शर्मा



काठमाडौँ, २० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रसारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताएकी छिन् ।

आज सिंहदरबारमा रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको बताइन् । 

उनले विगतमा जस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई सरकारको प्रचारकको रूपमा मात्रै नभई जनताको आवाज सरकारसमक्ष पुर्याउने माध्यमका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर आम सञ्चारको क्षेत्रमा कानुन निर्माणमा जोड दिएको पनि उल्लेख गरिन् । उनले हाल संसदमा रहेको सार्वजनिक सेवा प्रसारण विधेयक पारित भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रसारणमा रूपान्तरण हुने भन्दै अहिलेदेखि नै तयारी थाल्नुपर्ने आवश्यकता रहेको बताइन् ।