Banner News

विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ : मन्त्री श्रेष्ठ



काठमाडौँ, २४ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्ने बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले सडक, सदन या सरकार जहाँ हुँदा पनि आफू यो मान्यतामा दृढ रहेको उनले बताइन् । राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता नहुने उल्लेख गर्दै उनले पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा बिर्सने छैन, बोली नबदल्ने बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को, यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा मेरो एउटै धारणा छ, विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ । प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ । राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता हुँदैन । परिणाम आउँदैन । यो सांसदको रूपमा मैले राखेको संशोधन होस्  वा आज मन्त्रीको रूपमा मेरो भूमिका । यही हो मेरो धारणा । पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा बिर्सने छैन, बोली बदल्ने छैन ।’