Banner News

प्रधानमन्त्री प्रचण्डलाई प्राज्ञिक समूहको ध्यानाकर्षण



काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राध्यापक एवं प्राज्ञिक समूहले ध्यानाकर्षण गराएका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा योग्यताका आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद व्यक्त गर्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले विश्वविद्यालय र सबै शैक्षिक संस्थामा राजनीतिको गन्ध आउन दिनु नहुनेमा जोड दिए । प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीसँग त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय र प्राज्ञिक संस्थामा राजनीति अन्त्य गर्नुपर्ने बताए । उनले कुनै शैक्षिक संस्थामा पनि राजनीतिकरण, हस्तक्षेप र खेलबाड नहुने भनेर राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिए ।

प्रा. डा. अर्जुन कार्कीले प्राज्ञिक क्षेत्रको सुधारका निम्ति राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता, क्षमता र प्रतिबद्धताका आधारमा छान्नुपर्ने बताए । दलीय निकटताका हिसाबले नभएर योग्य र क्षमतावान् मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुने उनले उल्लेख गरे । उनले विश्वविद्यालयको नेतृत्व सुधार गर्नु अपरिहार्य र महत्त्वपूर्ण पक्ष भएको बताए ।