विश्व

बढ्यो चीनको अर्थतन्त्र



बेइजिङ, ४ बैशाख । यो वर्षको सुरुमा चीनको अर्थतन्त्र अपेक्षा गरिएभन्दा धेरैले बढेको छ । घरजग्गा बजारमा सङ्कट गहिरिँदै गइरहेको भएपनि आर्थिक वृद्धिदर अनुमान गरिएको स्तरभन्दा माथि उक्लिएको हो । सरकारी तथ्यांकअनुसार गएको वर्षको सोही अवधिको तुलनामा यो वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ५ दशमलव ३ प्रतिशतले बढेको छ ।

मार्च त्रैमासमा अर्थतन्त्र ४ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणले देखाएको थियो । गएको वर्षको पहिलो त्रैमासमा भने चिनियाँ अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढेको थियो । चीन सरकारले गएको महिना यस वर्षको लागि करिब ५ प्रतिशतको महत्त्वाकाङ्क्षी आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो । पछिल्लो तथ्याङ्कले सरकारको प्रक्षेपण पूरा हुने आशा जगाएको छ ।